Monday, May 25, 2009

किरात राईहरूको साकेन्वा उत्पत्तिको एक झलक

किरात राईहरुको साकेन्वा उभौली उधौली र सिली: किरात राईहरूको आस्थाको धरोहर साकेन्वा सिलीपनि एक हो। संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आवद्ध रहेका हुन्छन्। यो उनीहरूको ऐतिहासिक सम्बन्धको द्योतक पनि हो। मानवको सृष्टिसंगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप धारणगर्न पुगेपछि यसैलाई आजसम्म मानवजगतले निरन्तरता दिई आएका छन। यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुन्छ। यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी हामी सबैको काधमा आएको छ। किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेन्वा उभौली र उधौलीचाड किरातहरूको लागि शुभकामना आदान प्रदान मनोरञ्जन र खुसीको चाड पनि भएको छ। त्यसैले यसैलाई मूख्य विषयवस्तु बनाएर यहाँ साकेन्वा पूजा र यसका सिलीहरूको प्रकार भनेर प्रष्टयाउने प्रयास गरिएको छ। यो चाड किरात राईहरूले मात्र होइन किरात समुदायमा पर्ने लिम्बु, याक्खा र सुनुवारहरूले पनि चासोक, स्याँदर तथा फोलस्याँदर आदिको रुपमा मनाउने गरेको पाइन्छ। त्यसैले यसलाई सम्पूर्ण किरातहरूको साझा चाडको रुपमा शुभकामना आदानप्रदान गर्ने, नरनाता छोरीचेली भेट्ने, मनोरञ्जन गर्ने, एक अर्का वीच शुभकामना आदान प्रदान गर्ने सुनौलो अवसरको रुपमा पनि लिइन्छ। यो परम्परा पुरानो भए पनि सरकारले यसअघि कुनै मान्यता दिइएको थिएन तर यसै वर्ष २०६५ देखि वार्षिक रुपमा बैशाखे र मंसिरे पूर्णेमा दुईदिन सार्वजनिक विदा दिने निर्णय भएकाले यसलाई किरात जातिहरूको लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा मान्न सकिन्छ। साकेन्वा सिलिको प्रकार र त्यसको प्रयोगमा क्रमिकता विभिन्न प्रकारको रहि आएको छ जसमा सिलीहरु वापासिली, माङछामासिली, माक्वासिली, झेक्वासिली, तारेताङतुप्मीसिली आदि आदि छन्।
साकेन्वाको अर्थः साकेन्वा भन्नाले सिमित अर्थमा भूमी वा आराध्यदेव मानिएको शिला वा ढुंगाको पूजा हो। यो शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेन्वा/साकेला हो। बृहत अर्थमा उनै आराध्य भूमिदेव तथा धरतीकी प्रतीक सुम्निमा र आकाशको प्रतीक पारुहाङ, भूमिदेवलाई अन्न प्रदान गर्ने माताको रुपमा पूजागर्न आरम्भ गर्ने हेच्छाकुप्पा र नालुङमा (सिक्रिमा) तथा कपडा बुनाईको सीप आविष्कार गर्ने तायामा खियामा जस्ता श्रष्टाहरूले प्रतिपादन गरेको किरात संस्कार संस्कृति जसमा ढोल, ढयाम्टा, सिलिमी पोमी (चौरीको पुच्छर) जस्ता सांगीतिक बाजाहरूको साथमा रिसिया गाउँदै सिली नाचिने नाचगानको स्वरुपलाई साकेन्वा/साकेला नामले पुकारिन्छ। विविध किरातहरूको भाषामा: साकेन्वा, साकेवा, साकेला, तोषी, ष्याँदर, साकेल, साखेल, साकेल, तोष, साक्खेवा, साखेल, खाउमो, चासोक, जस्ता अनगिन्ती शब्दहरू हुँदाहुँदै हिन्दुहरूको प्रभावमा परेर साकेन्वालाई हिन्दुकरण गरी दुर्गादेवी चण्डी र त्यसैसंग सम्बन्ध राख्ने तीथिमिति समेतलाई जोडेर चण्डीपूर्णे वा चण्डी भन्ने गरेको पनि पाइन्छ। चण्डीभित्रको कथावस्तु तथा महात्म्य किरातको पारुहाङ, नायम, सुम्निमा, तायामा, खियामा, खोक्चिलिपा, नालुङमा तथा सिक्रिमाहरूसंग कुनै मेल खाँदैन त्यसैले चण्डीपूर्णे भन्नु असान्दर्भिक हुने भएकाले किरात राई यायोक्खाले किरात राई भाषामा नै साकेन्वा/साकेला वा अन्य किरात भाषी नामबाट संबोधन गरिनु पर्दछ भन्ने आव्हान गरेको छ।
साकेन्वा उत्पती: किरातहरू प्रारम्भमा काठमाडौंदेखि पूर्व पल्लोकिरातसम्म छरिएर वसेको हुनाले प्राय गाउँ नै पिच्छे आ-आफ्नो परम्परा वंश र स्थानसंग जोडेर भूमेदेव वा साकेन्वाको उत्पत्ति भएको बताउँने गरेको पाइन्छ। यस्ता अनेकौ मिथकहरूको संकलन गर्ने हो भने एउटा ठेली नै बन्न सक्तछ। तिनीहरूमध्ये निम्न केही मिथकहरूको चर्चा यसमा गरिएको छ। काठमाडौंमा रहेको किरातेश्वर महादेवलाई किरातीहरूले हेर्न नहुने भएकाले कुनै एकजना किरातीले त्यहाँको सानोढुंगा मागेर लैजाँदा अरुणको छेउसम्म पुग्दा बिशाल भयो तर ढुंगा थियो। ति किरातीले जहाँ जहाँ बिसाएका थिए त्यहाँ त्यहाँ साकेन्वाको उत्पत्ति भयो। यसरी ढुंगा लगिएपछि काठमाडौंमा प्रलय भएकाले ढुंगा उतै फर्काइयो। यस मिथकले साकेन्वाको उत्पत्ति मल्लकालिन हो भन्ने जनाउँछ। अर्को मिथकमा भोजपुर हतुवा र आम्चोकतिरका बान्तवा राई नाम्नु माङफाङ र हाङखिमले बालीखाने सुगुर मार्दा सेतो ढुंगामा परिणत भई पारुहाङ र सुम्निमाको चाल भनी बोकेर डम्बर्खुमा ल्याईपुर्‍याउँदा ढुंगा एकाएक भासियो। यसैलाई साकेन्वाको थान मानेर छोङ्खामा बजार लगाउन थालिएबाट साकेन्वाको पहिलो उत्पत्ति भएको हो भन्ने भनाई रहेको छ। कसैले दोलाखाको बुद्धहाङ राजा र उनका बहिनी सोइसोइलाको घतलाग्दो मिथकसंग साकेन्वाको उत्पत्तिलाई जोडेका छन्। किरात पुर्खाले गुमाएको उपत्यका फिर्ता गर्ने उद्देश्यले हेन्कुमबुङ देवको स्थापना गरी पूजागर्ने कार्यमा सरिक हुँदा बहिनी सोइसोइलाले बुनेको सेवारी (पगरी) दाजु बुद्धहाङ्लाई लगाईदिन खोज्दा खोज्दै रजस्वला भएकीले काँधसम्म पुर्‍याएर छोडिन र उनी त्यहाँबाट नफर्किने गरी हिडिन। उपस्थित जन सबैले दोलोकुम्मा दो सोइसोइला (सेवारी कुम्मा छ लगाईदेउ सोइसोइला) भनेर गीतको भाकामा बोलाउँदा पनि सोइसोइला आइनन्। आखिर कुमको सेवारी भूइमा खसेपछि तुरुन्त ढुंगामा परिणत भयो र त्यसैलाई पूजागर्ने परम्पराबाट साकेन्वा उत्पत्ति भएको हो। यस मिथकले मल्लकालिन अवस्थामा दोलाखामा साकेन्वा उत्पत्ति भएको जनाउँछ।
तायामा खियामा हेच्छाकुप्पा, नालुङमा तुवाचुङडाँडा सेरोफेरो प्रारम्भिक उत्पत्ति स्थल माथि प्रस्तुत भएका मिथकहरू भन्दा भरपर्दो मिथक तायामा खियामा हेच्छाकुप्पा र नालुङमा वा सिक्रिमा जस्ता आदिम पात्रहरूसंग सम्बन्ध राख्ने तायामा खियामा हेच्छाकुप्पा र नालुङमा भूमि मुख्यत खोटाङको हलेसी, गाबिसको काभ्रैमा रहेको तुवाचुङडाँडा र सल्लेको चिचिङ्धा गाउँलाई साकेन्वा सिलीको उद्गमस्थल मान्ने गरेको पाइन्छ। यो तुवाचुङडाँडालाई तुवातुङ, तायाचुङ, तायामा वा तोयामा, खियामा, तमा वा तोमा, खेमा, जायाजुम, मलथुम्का, ग्रमुलजु, दिदीवहिनीडाँडा जस्ता विविध नामहरूले पुकारिन्छ जहाँबाट साकेन्वा सिली मात्र होइन कपास र अल्लोको कपडाबुन्ने शीपको अन्य किरात राईहरूको बस्तीमा विस्तार भएको तथ्यलाई पुष्टि गर्ने सप्रमाणिक भौतिक यथार्थ तोमाखेमा डाँडामा रहेको छ। यो यथार्थ तायामा खियामा हेच्छाकुप्पा र नालुङमाको जीवनगाथा बुझेको ब्यक्ति जसले यो भूमि एकपटक स्पर्श गरेको छ उसलाई मात्र सत्यता हो भन्ने लाग्छ। सम्पूर्ण किरात राईहरूमा मिथकको भाव उद्देश्य र पात्रहरू समान खालको रहेको र यस प्रकारको भूमिको वर्णन अन्य कुनै मिथकले पनि आजसम्म पेश नगरेको हुनाले यही तायामा खियामा हेच्छाकुप्पाको भूमिलाई किरात धर्म, संस्कृति र सम्भताको केन्द्रबिन्दु मान्न सकिन्छ। तायामा खियामा हेच्छाकुप्पा भूमिको सप्रमाणिक तथ्यहरूको स्थिति जातीय चेतनाको अभाव र सरकारी संरक्षण नपाएको हुनाले तुवाचुङडाँडाको वस्तुगत प्रमाणहरू लोपहुँदै गैरहेको छ। प्रमाणिक ढुंगाहरू फुटाई चौतारो चिठ्ने, बाटो बनाउने, देवीको मन्दिर तथा देवताथान बनाउने, जानी वा नजानी ढुंगाहरू ओरालो लडाईदिने, पूर्व बनिबनाउ थानहरू भत्काईदिने, ढुंगाहरू फुटाईदिने जस्ता कार्यहरूले गर्दा के वास्तविक तायामा खियाको थान यही हो त भन्ने शंका लाग्न सक्छ तथापि मिथकले प्रस्तुत गरेअनुसारको प्रमाणहरू अझै रहेको छ। अहिलेसम्म बचेको त्यस्ता प्रमाणहरूमा तानबुन्ने ठाउँ, टुकीराख्ने ढुंगाका अर्ध खोपिल्टा, तानबुन्ने प्रयोजनको लागि गाडिएका ढुंगाहरू, तायामा खियामाले प्रयोग गरेको प्राचीन ओडार जस्ता पुराना अवशेषहरू रहेकाछन्। त्यसैगरी तुवाचुङ्डाँडाबाट करिब एकघण्टा टाढा रहेको चिचिङ् गाउँमा हेच्छाकुप्पाले निकालेको पानी र त्यसैको समिपमा रहेको हेच्छाकुप्पाको समाधिस्थल जस्ता प्रमाणहरू पनि अझै रहेको छ। दिक्तेल सदरमुकामबाट हलेसी महादेवस्थानसम्म जाने मूलबाटोमै तुवाचुङडाडा अवस्थित रहेकाले बाटो हिड्ने जान्नेसुन्ने सवैले तुवाचुङलाई यही नै हो तायामा खियामाको तानबुन्ने थलो भन्दछन्। यही डाँडाको आसपासमा अर्खौले, हलेसी, सल्ले नामका गाउँहरू पनि रहेका छन। हलेसीको गुफादेखि साल्पासम्म छुने लामो पहाडी श्रृङ्खला रहेको र यही बाटो गरेर हेच्छाकुप्पा कहिले फूलबिसौना हुँदै साल्पा, इर्खुवा चिर्खुवाको सिरसम्म पुग्ने, कहिले रावाखोला दुधकोशीसम्म माछा मार्न जाने र कहिले मधेशसम्म पुग्ने गरेको भनाईरू पुर्खाहरूले गर्दै आएको पाइन्छ। सृष्टिको आरम्भतिरकै कुरा हो पापा पातेसुङ र आमा दिलीदुमको मृत्यूपछि तायामा खियामा र हेच्चाकुप्पा टुहुरा भई चेलीहरूबाट बढो दुःखले माइती हेच्छाकुप्पाको लालनपालन हुन्छ। अर्काको जाँतोबाट सामल संकलनगरी पकाएको भात भाइले अन्जानमा घोप्ट्याएपछि दिदीहरूले भाइलाई कुट्छन्।भाइ रुँदारुदै निदाउँछ, उठाउँदा उठ्दैन। भाइ मरेको ठानी चिहान खनेर त्यसमा चिण्डो, केराको थाम र कालोपातीको झिक्रा प्रयोगगरी भाइकै पार्थिव शरीर गाडेरछेउमा एउटा केराको बोट रोपी एउटा कर्दसमेत छोडेर दिदीहरू बाटो लाग्छन् र अहिलेको तुवाचुङ्डाँडामा आईपुग्छन्। त्यहाँबाट पनि दिदी डाँफे भई भोट र बहिनी धनेश भई मधेश झर्छन। हिड्न अघि मृत या जीवित थाहा पाउन एक एकवटा बावरी फूल रोप्छन। बहिनी चञ्चले भएकीले लाटकोसेरोले मारेर खान्छ र हाडहरू मात्र बाँकी राख्छ। पछि बहिनीको फूल मरेको देखी दिदीले बहिनीको हाडखुर जम्मागरी रिसीय गाएर ब्युँझाई सोही तुतुवाचुङ्डाँडामा कपडा बुन्ने घरेलु उद्योग स्थापना गरी बस्छन। यता हेच्छाकुप्पा निन्द्राबाट व्युँझदा दिदीहरू हुदैन। रोइकराई गर्छ तर दिदीहरू नआएकाले कर्द टिपेर केराको बोटलाई डर देखाएपछि केरा पसाएर पाक्छ र त्यसैलाई खान्छ। उ सिकारी बन्छ र तामेढुक्कुर पासोमा पार्छ। त्यसको गाँडबाट अन्नका बिजहरू फेलापारी त्यसलाई घुर्यानमा फाल्छ। पछि लहलह भएको अन्न फल्छ। त्यसैलाई संकलन गरी खेतीपाती गर्न थाल्छ र कृषक बन्छ। कहिले माछा मारेर खान्छ। त्यहीक्रममा उसको नागको छोरी सिक्रिमासंग विवाह हुन्छ। विवाह पश्चात उ अन्नको अझ धनी हुन्छ। एकदिन हेच्छाकुप्पालाई नयाँ अन्नको खाना खाएपछि मातलागेर विरामी पर्छन्। यसको कारण सिक्रिमाले "तिमीले तिम्रो पुर्खाहरूलाई अर्पण नगरी खाएको हुनाले यस्तो भएको हो" भन्छिन। त्यस वर्ष त्यत्तिकै भयो। अर्को वर्ष उधौलीको समय आयो नयाँ अन्न घरमा भित्रियो। पुर्खालाई चढाउने बेला पनि आयो। तर कसरी चढाउने भन्ने ज्ञान हेच्छाकुप्पालाई नभएकाले सिक्रिमाकै सल्लाह अनुसार पुर्खाहरूलाई चढाउने व्यवस्था गरे। नयाँ अन्न पोली पकाई चुल्हाको वरीपरी राखियो तर चेलीको अभावमा त्यो अपूर्ण हुने भएकाले चेलीहरू खोज्न विभिन्न जीवहरू-जुम्रा, उडुस, बाख्रा पठाइन्छ। तर सफल हुदैन। त्यसपछि उपिया पठाइन्छ। उपियाँ उफ्रदै गएर तायामा खियामालाई भेटी टोक्न थाल्छ। उपयालाई पक्रेर मार्न टाउको किच्याउँदा उपियाँ उछिटिएर भाग्छ र दुबोको त्यान्द्रोले टाउको बाँधी तायामा खियामा तुवाचुङ् डाडामा रहेको खबर दिन सफल हुन्छ। चिचिङ्धावासी पुर्खाहरू उपियाँ उफ्रदै गएको बाटो त्यही हो भनेर अहिले पनि चिनाउँछन। अन्त्यमा तायामा खियामा ल्याउन कुखुराको भाले तुवाचुङडाँडा पठाइन्छ। भाले त्यहाँ पुगेर तायामा खियामा खोक्चिलिपा (हेच्छाकुप्पा) भनेर बास्छ। मरेको भाइको नाम काढेर बासेको सुनी यसलाई अभास ठानेर तानको थुरी र बाइसुम (लठ्ठी) झिकेर भालेलाई झटारोले हान्छन्। झटारोले लागेपछि भालेको प्वाँख खस्ता उनीहरूले त्यसलाई थुरीमा राख्न मिल्छ भनी टिपेर बोक्छन। भाले जब गहिरा पस्छ बखान गाउँछ जब डाँडामा पुग्छ बास्न थाल्छ। एबं क्रमले भाले बास्ने, झट्टी हान्ने, प्वाँख खस्ने र प्वाँखलाई टिपेर बोक्ने काम क्रमैले हुँदै जान्छ र अन्तमा हेच्छाकुप्पाको घरमा आई पुग्छन। यता हेच्चाकुप्पाको घर भित्र पितापुर्खालाई अन्न चढाउने काम शुरु हुन लागेको हुन्छ। उता भालेले पनि तायामा खियामालाई हेच्छाकुप्पाको घरमा उत्तिनैखेर ल्याई पुर्‍याउँछ। मरेको भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्‍याल चुहाउँदै आगनमा प्रबेश गर्छन र खान थाल्छन्। उता घरभित्र हेच्छाकुप्पाले रिभम पारुहाङ् नायम हुदै पापापातेसुङसम्म मुदुम गाउँदै आईपुग्दा शरिरमा जोड्ले कम्प पैदा हुनथाल्छ। उनी भालासंग घर वाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुंगा निकाल्छन्। त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ। त्यस ढुंगालाई भूमेदेव साकेन्वा/साकेला मानी पूजिन्छ।
साभार श्रोतः विभिन्न पत्रपत्रिका र वेभ ब्लग

द्वापरयुगको शेषाङ्ककालीन किरात राजा यलम्वर

गोरखापत्रको १ सय ७ वर्षो इतिहासमा वर्तमानको वि.सं. २०६४ देखि 'नयाँ नेपाल' नामक पृष्ठहरु समावेशीकरणको एउटा फड्को भनेर नेपाल सरकारले सूचीकृत गरेको सीमान्तकृत वर्गहरुको मातृभाषा, लिपि, धर्म, संस्कृति, कला, साहित्य र इतिहासका विषयहरुमा सम्बन्धित अध्येता, इतिहासविद् अनुसन्धानकर्ताहरुका लेख, कविता र अनुसन्धानमूलक रचनाहरु प्रकाशन हुन थालेको हामी सम्पूर्ण नेपालीलाई अवगत भएकै हो । 'नयाँ नेपाल' शीर्षक रहेको प्रथम पृष्ठमा आवश्यकताअनुसार नै होला कहिले 'यले सम्वत्' कहिले 'विक्रम सम्वत्' र कहिले 'नेपाल सम्वत्' आदि उल्लेख गरेको देखिन्छ । यहाँ मेरो जिज्ञासा भनेको 'यले सम्वत्' हो। वि.सं. २०६४ मंसिर २५ गते मंगलबारको -इ.सं. २००७ डिसम्बर ११) गोरखापत्रको 'नयाँ नेपाल' लेखिएको पृष्ठमा यलेसम्वत ५०६७ उल्लेख भएको छ । अतः मैले यस विषयको सेरोफेरोमा केन्द्रीकृत भएर केही ऐतिहासिक तथ्य प्रकाश पार्ने प्रयास गरेको छु ।
यसै सर्न्दर्भमा र्सवप्रथम मैले सिलौटी राष्ट्रिय मासिक पात्रो रचना गर्नुहुने रानीटार-४ पान्थर मेची नेपाल निवासी श्री तिलविक्रम नेम्वाङको वि.सं. २०६१ को यलेसम्वतलाई ५०६४ भनिएको सर्न्दर्भ स्रोत लिएको छ । उक्त पात्रोमा किरात यलेसम्वत ५०६४ थेरेङनाम वि.सं. २०६१ वैशाख, इ.सं. २०६१ वैशाख, इ.सं. २००४ अप्रिल/मे भन्ने उल्लेख गरेको देखिन्छ । यस आधारमा वर्तमान २०६४ मा यलेसम्वत ५०६७ हुन आउँछ, जुनचाहिँ गोरखापत्रले स्वीकार गरेको देखिन्छ । यलेसम्वतको चर्चा किरात इतिहासविद् तथा संस्कृतिका ज्ञाता दुर्गाहाङ याक्खा राईले आफ्नो कृति 'किरात हिजो र आज' इ.सं. १९९८ को प्रथम संस्करणको पृ.नं. २४ मा गर्नुभएको छ । उक्त कथनलाई यस कलमीले यहाँ अक्षरशः साभार गरेको छ । खुदै किरातहरुले नेपालमा किरात राजा संस्थापक यलम्बरहाङको संस्मरणमा चलाइ ल्याएको येलेदोङ -किरात सम्वत) पनि इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्ष छ, जसको ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ । श्री दुर्गाहाङ महोदयको कथनलाई अध्ययन गर्दा किरात सम्वत अर्थात येलेदोङ इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्ष छ । यी अंकहरुलाई गणितीय योग गर्दा वर्तमान वि.सं. २०६४ -इ.सं. २००७/२००८) मा यलेसम्वत २०६१/२००७/५०६७ वर्षहुन आउँछ । तर गोरखापत्रको वर्तमान वि.सं. २०६४ मा यलेसम्वत ५०६७ मात्र उल्लेख भएको देखिन्छ । यहाँ एक वर्षे रुजु हुन सकेको छैन । तर, गोरखापत्र र सिलौटी राष्ट्रिय मासिक पात्रो यी दुईको यलेसम्वत भने ठ्याक्कै रुजु हुन गएको देखिन्छ । वर्तमान नेपालमा किरात इतिहास निर्माण गर्ने क्रममा कलम चलाउनेहरु प्रशस्तै देखिन्छन् । यस क्रमलाई हामीले प्रशंसा गर्नुपर्ने नै हुन्छ । हालसम्म नेपालमा किरात इतिहास निर्माण गर्नेहरु स्व. श्री इमानसिह चेम्जोङ र श्री दुर्गाहाङ याक्खा राईको नाम शीर्ष स्थानमा रहेको छ । उहाँले लेख्नुभएको 'इशुख्रिष्टको मृत्युपूर्वको ३०६१ वर्ष छ' भन्ने अंकलाई स्वीकार गर्नुभएको छैन भन्ने संकेत पाइन्छ र अगाडि लेख्नुहुन्छ- जसको -३०६१ वर्ष ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ भन्ने मन्तव्य व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा इ.सं. २००७ दिसम्बर १४ को ब्लाष्ट दैनिकले किरात इतिहासमा चासो राख्ने श्री लक्ष्मण आठाप्रे किरातको लेख प्रकाशित गरेको थियो । सो लेखमा उल्लेख भएको सान्दर्भिक कथन यहाँ साभार गरेको छु । शंखधर साख्वाको ११२८ को सम्वत् र यलेसम्वत ५०६८ भनीकन प्रमाणित गर्न हामीसँग के आधार छ त - यहाँ आठाप्रेजीले यले सम्वतको बारेमा अनभिज्ञता प्रकट गर्नुभएको आभाष पाइन्छ । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा लेखिएको यले सम्वतले किरातहरुका ऐतिहासिक प्रथम राजा यलम्बरलाई संस्मरण गराउँदछ ।
नेपालको इतिहास लेख्नेहरुमा सर्वप्रथम हात हाल्ने युरोपियनहरुमा कर्र्णोल कर्कपेटि्रक नै हुन् । उनले इ.सं. १७९३ मा नेपाल भ्रमणपश्चात् इ.सं. १८११ मा लण्डनबाट अकाउन्ट अफ द किङ्गडम अफ नेपाल नामक इतिहास प्रकाशन गरेका थिए । सोही इतिहासको भारतीय संस्करण इ.सं. १९९६ को पृष्ठ नं. २५७ मा नेपाल उपत्यकामा राज गर्ने जम्मा २७ जना किरातवंशका राजाहरुले शासन गरेका थिए । यी राजाहरुमा प्रथम राजाको नाम एल्लुङ उल्लेख भएको छ । यो नाम निश्चय पनि संस्कृत भाषाको जस्तो सुन्नमा आउँदैन । यी किरात राजाहरुले 'जम्मा १६३० वर्षराज गरे' भने पनि कर्कपेटि्रकले 'लगभग ८०० वर्षराज गरे' भन्ने तथ्य प्रस्तुत गरेका छन् । त्यस्तै योगी नरहरिनाथले 'सन्धिपत्र संग्रह'मा नेपालका किरात राजाहरुको वंशावलीमा प्रथम किरात राजाको नाम एलम लेख्नुभएको छ । यिनै यलम्बर, एलम अथवा एल्लुङले नेपाल कहिलेदेखि शासन गर्न थाले - सोही समयलाई किरात सम्वत् अथवा यले सम्वत नामकरण हुनु आजको सान्दर्भिक मान्यता हो । नेपालको किरात राजवंशको सन्दर्भमा भारतका प्रख्यात इतिहासविद् डा. जीपी सिंहले लेख्नुभएको किरातस् इन अनसिइन्ट इन्डीया, इ.सं. १९९० पृष्ठ ३९५ मा नेपालको वंशावली र अन्य आधिकारिक प्रमाणहरुको अध्ययन र छलफलले निष्कर्षमा पुग्दा किरात राजाहरुको जम्मा संख्या २६ देखि ३२ सम्म फरक परेको बताउनुहुन्छ । तर उहाँ अगाडि लेख्नुहुन्छ- सम्पूर्ण सम्बन्धित स्रोतहरुको अनुसन्धान र आधिकारिक इतिहासविद्हरुको परस्परको आम सहमतिले २९ किरात शासकहरुमात्र अस्तित्वमा आएका थिए, जसले इ.पु. ३१०२ देखि सातौँ शताब्दीसम्म काठमाण्डौ उपत्यकामा राज गरे ।' पुनः डा. सिंह अगाडि लेख्नुहुन्छ- 'उत्तरपूर्व भारतको हिमालयमुन्तिरको प्रदेशमा लगभग ४००० इ.पू.देखि सातौँ शताब्दीसम्म किरात राजवंशीय शासन स्थापना भएकोले हाम्रो प्राचीन इतिहासको एक अत्यन्त महत्वपूर्ण अध्यायको निर्माण हुन सकेको छ ।' डा. सिंह पुनः अगाडि लेख्नुहुन्छ- 'यसै राजवंशले काठमाडौं उपत्यकामा २९ पीढिसम्म अविच्छिन्नरुपले लगभग १ हजार वर्षम्म राज गरे ।' उहाँले नेपालको राजनीतिक मञ्चमा किरात राजाहरु दुई चरणमा देखापरेको छ र लेख्नुहुन्छ- 'प्रथम चरणमा आजको नेपालमा प्रवेश गर्नेहरु किरात कलियुग प्रारम्भ हुनुभन्दा अघि र दोस्रो चरणमा कलियुग सुरु भएपछि काठमाण्डौ उपत्यकामा देखापरेका थिए ।' डा. सिंहले आफ्नो कृतिको पृ.नं. ३९६ मा नेपालको प्रथम किरात राजाको नाम एलम्बरा, एल्लुङ, एलम्बा अथवा एलम्बाहाङ लेख्नुभएको छ ।
काठमाडौं उपत्यकामा किरातहरुको आगमनको सन्दर्भमामा नेपालका इतिहासविद् डा. डिल्लीरमण रेग्मीले किरातहरु पूर्वोत्तर भारतबाट नेपाल आएका थिए भन्ने स्वीकार्नुभएको छ । किरातहरु पूर्वबाट आएका हुन् भन्ने यथार्थतालाई स्वीकार्रर्दै डा. मदनमणि दीक्षितको 'किरातवंशको इतिहास र लिपिसम्बन्धी केही कुरा' नामक लेखमा वाजसनेयीय संहिता र तैतरिय ब्राह्मणले किरातहरु गुफावासी भने पनि पछि गएर किरातहरुको वासस्थान 'पूर्वी नेपाली पहाड' भनी उल्लेख भएको देखिन्छ । यस कथनले विशेषत राजा यलम्बरको वंश पूर्वबाट पश्चिम लागेको स्पष्ट देखिन्छ । यसै पर्रि्रेक्ष्यमा नेपालका शिर्षस्थ विद्वान् मोदनाथ प्रश्रतिको इ.सं. २००७ डिसम्बर ०८ को कान्तिपुर दैनिक समाचारपत्रमा प्रकाशित भएको 'नेपालको जातीय बनोट र राष्ट्रिय एकता' नामक लेखमा पौराणिक नेपालको भूभाग विशेषताले पौराणिकालमा पूर्व ब्रह्मपुत्रदेखि पश्चिम पञ्जाबसम्म नेपाल नामबाट परिचित थियो । यस कथनले सिद्ध हुन्छ कि बृहत् नेपालको पूर्वी दिशाबाट आएका किरातहरु आजभन्दा ५००० हजार वर्षघि काठमाण्डौ उपत्यका आई राजकाज चलाउन सफल भएको अवगत हुन्छ । वर्तमानलाई नियालेर हेर्दा अझ पनि किरात प्रजातिका -किरात रेस) मानिसहरु पूर्वी नेपालको उत्तरपूर्व भारतको अन्तिम सीमासम्म आवाद भएको देखिन्छ । प्रथम किरात राजा यलम्बर नामक संज्ञा डा. डेनियल राइटको हिस्टोरी अफ नेपाल पनि उल्लेख भएको छ । आजभन्दा १ सय ३० वर्षघि अर्थात इ.सं १८७७ मा डेनियल राइटको प्रथम संस्करणको इतिहास केम्ब्रिजबाट प्रकाशत भएको थियो । उक्त इतिहासको लेखन कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याउने पाटन निवासी -काठमाडौं उपत्यकाको ललितपुर) नेपाली 'पण्डित श्री गुणानन्दको भूमिका अत्यन्त विश्वसनीय रहेको छ' भन्ने भनाइलाई नकार्न नसकिने अवस्था छ किनभने उहाँका पूर्वजहरु कयौं पुस्तासम्म नेपालको इतिहास संकलन गर्ने कार्यमा अभ्यस्त थिए भन्ने वर्णन सोही इतिहासको इ.सं. १९९३ दोस्रो पुनः मुद्रित संस्करणको प्रस्तावनामा स्पष्ट उल्लेख भएको छ । अतः प्रथम किरात राजाको नाम यलम्बर नै भएको स्वीकार्य देखिन्छ ।
डा. राइटको इतिहासको पृ.नं. १०६ मा किरातहरु द्वापरयुगमा नेपालमा देखापरेका थिए भन्ने उल्लेख भएको छ । यसै इतिहासको पृ.नं. १०९ मा किरात राजवंशको प्रथम राजा यलम्बरले 'नेपालमा १३ वर्षराज गरे' भन्ने पनि देखिन्छ । भारतका प्रख्यात इतिहासविद डा. जीपी सिंहको इ.सं. १९९० को कृतिको पृ.नं. ३९६ मा राजा यलम्बरको उत्तराधिकारी पविको -यानचिहाङ) समयमा कलियुग फैलिसकेको उल्लेख भएको छ । वर्णन निम्न प्रकारको रहेको छः 'नेपालको वंशानुगत किरात राजाहरुको इतिवृत वर्णनगर्दापूर्ण यलम्बर नै प्रथम किरात राजा थिए । उनले नेपालको किरात राजवंशको जग बसालेका हुन् । प्राचीन भारतको नाम उज्ज्वल गर्नुमा नेपालको किरातहरुको महत्वपूर्ण भूमिका रहेको थियो । उनले १३ वर्षराज गरे ....।'यसै सर्न्दर्भमा नेपाल हिन्दू अधिराज्यको इतिहास दोस्रो खण्डका फ्रान्सेली लेखक सिल्भालेभीले पनि डा. डेनियल राइटको मतलाई स्वीकार गर्दै भनेका छन्- 'प्रथम किरात राजा यलम्बरले १३ वर्षराज गरे । दोस्रो किरात राज पविको शासन कालमा ज्योतिषविद्हरुले पृथ्वीमा पूर्णरुपले कलियुग फैलिसकेको घोषणा गरे र मानवजातिको पाप कर्मतर्फलिप्सा जागेको थियो ।' राजा पविको समयलाई यस्तो विश्वास गरिन्छ कि भगवानसँगको द्वापरयुग समाप्तिको साथसाथै कलियुगको प्रथम चौथाई अंश प्रारम्भ भइसकेको थियो ।
अब कलियुगको चर्चा गरौँ । यस सन्दर्भमा पर्सिवल लैण्डनको हिस्टोरी अफ नेपाल इस्वी सं. १९२८ मा ऋयलकतबदभि बलम ऋय-ीयलमयल ले प्रथम पटक प्रकाशन गरेका थिए र सोहीको नयाँ संस्करण सन्दर्भ स्रोत लिएको छु । यस इतिहासको पृ.नं. १९ मा उल्लेख भएको साभार गरेको छु । यहाँ भन्नलाई प्रशस्तै छ कि लगभग इ.सं. ४९६ देखि सातौँ शताब्दीको प्रारम्भसम्म नेपालको अवगत भएको कथाचाहिँ पूर्णतया शिलालेखमा आधारित छ । यस पृष्ठमा नेपालका विविध राजवंशका प्रारम्भिक कालको तथ्यांक दिने काम गरेको छ । उल्लेख भएका तथ्यांकहरुमध्ये 'कलियुग कहिले सुरु भयो -' भन्ने प्रश्नको उत्तरमा ३१०१ इ.पू. भन्ने देखिन्छ । तर, डा.जीपी सिंहले कलियुग सुरु भएको इ.पू. ३१०२ भन्ने लेखेका छन् । यी तथ्यांकहरु ठयाक्कै रुजु भएका छैनन् । अर्थात् एक वर्षे फरक परेको देखिन्छ । 'कुनचाहिँ ठीक छ -' भन्ने जिज्ञासामा मैले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत वि.सं. २०६४ को 'बालकृष्ण पात्रो' र प्राचीन दैवज्ञ ज्यो.पं. बाबुराम शर्माको 'यही पञ्चाङ्ग हो' भन्ने दुई स्रोतहरुका अनुसार ५१०८ कलिगत वर्षदेखिन्छ । यी ज्योतिषविद्हरुले वि.सं. २०६४ मा कलिगत ५१०८ वर्षाई अनुमोदन गरेकाले यसै ५१०८ वर्ष आधार मानेर कलिगत वर्षो गणना निम्नबमोजिम रहेको छ । सर्वप्रथम फान्सेली इतिहासविद् सिल्भालेभीले १९०५ इ.सं. मा र तत्पश्चात् पर्सिवाल लैण्डन १९२८ इ.सं. मा नेपालको इतिहास लेख्ने क्रममा कलियुग सुरु ३१०१ इ.पू. भन्ने लेखेको पाइन्छ । अतः वि.सं. २०६४ मा कलिगत वर्ष३१०१ इ.पू २००७ वर्तमान इ.सं ५१०८ वर्षचाँही ज्योतिषविद्को गणनाअनुसार ठयाक्कै रुजु भएकोले वि.सं. २०६४ मा कलिगत वर्ष५१०८ लाई नै स्वीकार्य देखिन्छ । तर, कलियुग सुरु ३१०२ इ.पू. भन्ने तथ्यांक यहाँ बेठीक ठहरिएको छ ।
डा. राइटले आफ्नो कृतिको पृ.नं. १०९ मा हिन्दुस्तानबाट आएका आभीर अल अहिरा अफ अभिया जसलाई ग्वाला जाति भनिन्थ्यो, नेपाल आई राज गर्न थाले । यिनै वंशको तेस्रो राजा भुवनसिंहको राज्यकालमा पूर्वबाट आएका किरातहरुले आक्रमण गरेर राज्य लिएको हुन् । तत्पश्चात् किरातहरुको यलम्बर नामक प्रथम किरात राजा भए ।
यस कथनलाई स्वीकार गर्दै नेपालको पहिलो इतिहास लेख्ने पण्डित अम्बिकाप्रसाद उपाध्यायले आफ्नोकृति नेपालको इतिहास वि.सं. २००४ को तृतीय संस्करणको पृ.नं. २२ मा लेख्नुहुन्छ- 'किराती राजाहरुमा पहिला राजा यलम्बर भए । यिनै यलम्बरको पुत्र पविको राज्यकालमा कलियुग प्रारम्भ भयो ।' नेपालको विभिन्न कालमा विभिन्न सम्वतहरु चलेको इतिहासले बताइरहेको छ । त्यसमध्ये कलि सम्वत् पनि एक हो । वर्तमानमा कलि सम्वतको उपयोगिताबारेमा श्री प्रमोदवर्द्धन कौडिन्यायन स्वादध्यायशाला लाजिम्पाट काठमाडौं अनुसार कलि सम्वत चाँही धार्मिक कृत्यका संकल्पमा कुनै रुपले प्रयोग हुँदै आएकोले यसको धार्मिक महत्व र उपयोगिता छ भन्ने हामीलाई जानकारी हुन आएको छ । वि.सं. २०६४ मा कलि सम्वत् कति हुन्छ भन्ने चर्चा माथि नै भइसकेको छ । राजा यलम्बरले १३ वर्षराज गरे भन्ने अर्थले वि.सं. २०६४ मा -इ.सं. २००७/२००८) यले सम्वत् कति हुन्छ - यसको गणना यहाँ प्रस्तुत गरेको छु ।
कलियुग सुरु ३१०१ इ.पूर्व वर्तमानको २००७ इ. सम्वत यलम्बरको शासनअवधि १३ वर्ष ५१२१ वर्षघि यलम्बर राजा भएको गणितीय योगफल देखिन्छ ।

साभार : विभिन्न पत्र पत्रिका र वेभ ब्लग